गनोरिया | |
---|---|
विभाग: | चर्मविज्ञान, युरोलोजी, महिलारोग शास्त्र |
गनोरियालाई आयुर्वेदमा धातुरोग भनेर चिनिन्छ। गनोरिया अङ्ग्रेजी शब्द हो। अङ्ग्रेजीमा यसलाई गनोकोक्कल इन्फेक्सन, गनोकोक्कल युरेथ्राइटिस वा द क्ल्याप भनेर पनि चिनिन्छ।[१] निसेरिया गनोरी नामक ब्याक्टेरियमका कारणले सर्ने यो रोग यौन सम्पर्कबाट सर्ने सरुवा रोग हो। पुरुषहरूमा यो रोग लागेको बेला पिसाब गर्ने बेलामा पोलेको महशुस हुने तथा लिङ्गबाट झोल पदार्थ निस्कने हुन्छ। त्यस्तै महिलाहरूमा धेरै समयसम्म कुनै लक्षणहरू नदेखिने वा योनीबाट झोल पदार्थ निस्कने र तल्लो पेट दुख्ने हुन सक्छ। महिला तथा पुरुष दुबैमा लामो समयसम्म गनोरियाको उपचार गरिएन भने शरीरका अन्य भागमा पनि सङ्क्रमण हुन सक्छ। यौनाङ्ग आसपासमा फैलिएर अण्डकोषपछाडि रहेको नसा (इपिडिडाइमिस) सुन्निने वा तल्लो पेट सुन्निने रोग लाग्ने वा पूरै शरीरभरि फैलिएर जोर्नीहरू तथा मुटुका भल्भहरूमा असर पुर्याउन सक्छ।
यौन क्रियाकलापमा सकृय २५ वर्षभन्दा मुनिका महिलाहरूलाई प्रत्येक वर्ष गनोरियाका लागि परीक्षण गराउन सिफारिस गरिएको छ।[२] त्यस्तै पुरुषसँग यौनसम्पर्क गर्ने पुरुषमा पनि यही सिफारिस लागू हुन्छ।[२]
कन्डमको प्रयोग गरेर गनोरियाबाट बच्न सकिन्छ।[२] पहिला प्रयोग गरिने एन्टिबायोटिक औषधिहरूको प्रतिरोध विकसित भएको हुनाले हाल यसको उपचारमा सेफ्ट्रियाजोन नामको एन्टिबायोटिक औषधि प्रयोग गरिन्छ। गनोरिया क्लामेडिया ब्याक्टेरियाको सङ्क्रमणको साथमा आउन सक्ने र सेफ्ट्रियाजोनले यस्तो सङ्क्रमण निको पार्न नसक्ने भएकोले साधारणतया सेफ्ट्रियाजोन पनि अजिथ्रोमाइसिन वा डोक्सिसाइक्लिनसँग दिइन्छ। कतैकतै गनोरियाका ब्याक्टेरियाले सेफ्ट्रियाजोनको पनि प्रतिरोध गरेको पाइएको छ[३] जसले यसको उपचार झनै कठिन भएको छ।[४] यसको पूर्ण निदानका लागि तीन महिनाको उपचारपछि पुन: परीक्षण सिफारिस गरिएको छ।[२]
अनुमान गरिए अनुसार प्रत्येक वर्ष लाग्ने ४४ करोड ८० लाख उपचार गर्न सकिने यौन रोगहरू (गनोरिया, भिरिङ्गी, क्लामेडिया र ट्रिकोमोनियासिस) मध्ये ८ करोड ८० लाख मानिसलाई गनोरिया लाग्ने गरेको पाइन्छ।[५] महिलामा यस्तो सङ्क्रमण भर्खरै वयस्क अवस्था लागेको बेलामा देखा पर्दछ।[२] सन् २०१० मा गनोरियाले विश्वभरका करीब ९०० मानिसको ज्यान लियो जुन सन् १९९० को १,१०० भन्दा कम हो।[६]
गनोरिया लागेका लगभग आधा जति महिलाहरूले लक्षण देखाउँदैनन् भने बाँँकी महिलाहरूमा योनीबाट तरल पदार्थ निस्कने, तल्लो पेट दुख्ने वा सम्भोग गर्दा पीडा हुने जस्ता लक्षणहरू देखिन्छन्।[७][८] त्यस्तै यो रोगबाट सङ्क्रमित पुरुषहरूमा वीर्यवाहिनी नली सुन्निने हुनाले पिसाब गर्ने बेलामा पोलेको महशुस हुने तथा लिङ्गबाट तरल पदार्थ निस्कने जस्ता लक्षणहरू देखिन्छ।[७] गनोरिया लागेका आधा जति पुरुषहरूमा पिसाब गर्ने बेलामा पोलेको महशुस भएर वा नभइकन पनि लिङ्गबाट तरल पदार्थ निस्कने लक्षण देखा पर्न सक्छ।[९] यो गनोरिया लागेका पुरुषहरूमा सबैभन्दा बढि देखिने साझा समस्या पनि हो। सङ्क्रमित व्यक्तिसँग मुखमैथुन गर्ने पुरुष वा महिलालाई घाँटीको गनोरिया पनि हुन सक्छ। प्रायजसो यस्तो समस्या पुरुषहरूमा बढि देखिने गर्छ। यस्तो सङ्क्रमण भएका करीब ९०% ले कुनैपनि लक्षण देखाउँदैनन् भने बाँँकी १०% मा घाँटी दुख्ने समस्या देखापर्छ।[१०][११] गनोरिया जटिल अवस्थामा पुगेमा यसले अन्य सङ्क्रमणहरूमा जस्तै थकान महशुस गराउँछ।[९] केही सङ्क्रमितहरूले ब्याक्टेरियाप्रति एलर्जीयुक्त प्रतिक्रिया जनाउँछन्। यस्तो अवस्थामा देखिने सबै लक्षणहरू निकै ठूलो रूपमा देखा पर्छन्।[९]
गनोरियाका कीटाणु शरीरमा छिरेपछि सक्रिय हुन २ देखि १४ दिनसम्म लाग्छ भने सङ्क्रमणको ४ देखि ६ दिन भित्रमा प्राय लक्षणहरू देखिन थाल्छन्। गनोरियाले कहिलेकाहिँ रक्तसञ्चार प्रणालीमा प्रवेश गरी छालामा प्रभाव देखाएर घाउ पनि बनाउने र जोर्नीको सङ्क्रमण गराउँछ। त्यस्तै एकदमै थोरै अवस्थाहरूमा यो रोगका कीटाणुहरू मुटुमा बसेर यसका भित्रि कोठाहरूमा हुने पातलो झिल्ली (इन्डोकार्डियम) सुन्निने समस्या वा मेरुदण्ड हुँदै मस्तिष्कसम्म पुगेर मेनिन्जाइटिस पैदा गर्न सक्छ। यद्यपी यी दुवै समस्याहरू रोग प्रतिरोध क्षमता घटाइएका व्यक्तिहरूमा मात्र पाइएको छ।[११]
पुरुषहरूमा हुने गनोरियाले अण्डकोषको क्यान्सर विकसित हुने जोखिम बढाउँछ।[१२]
गनोरियाको मुख्य कारण निसेरिया गनोरी नामक ब्याक्टेरियम हो।[७]
गनोरिया प्रायजसो योनी, मुख वा मलद्वारमा गरिने मैथुनले गर्दा एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्दछ।[७][१३] सङ्क्रमित महिलासँग एक पटक यौनसम्पर्क राखेका पुरुषहरूलाई यो रोग सर्ने सम्भावना २०% हुन्छ। पुरुषसँग सहवास गर्ने पुरुषहरूलाई गनोरिया सर्ने सम्भावना अझ बढि हुन्छ।[१४] सङ्क्रमित पुरुषसँग एकपटक मात्र यौनसम्पर्क राखेका महिलाहरूमा यो रोग सर्ने सम्भावना ६०-८०% हुन्छ।[१५] गर्भवती महिलामा गनोरिया लाग्यो भने गर्भमा रहेको बच्चालाई पनि यसको सङ्क्रमण हुन सक्छ।
बच्चा जन्मिने बेलामा यदि आमालाई गनोरिया लागेको छ भने उक्त बच्चालाई सर्न पनि सक्छ। यसरी सरेको सङ्क्रमणले शिशुको आँखामा असर पुर्याउँछ। यस्तो सङ्क्रमणलाई अप्थाल्मियी नियोन्याटोरम भनिन्छ।[७]
बालबालिकाहरूमा यो रोग यौन क्रियाकलापबाट नभएर विभिन्न प्रदुषित वस्तुहरूबाट सरेको पाइएको छ।[१६] त्यस्ता वस्तुहरूमा बाथटब, कपडाहरू तथा तौलियाहरू पर्दछन्।[१६] यद्यपी यस्तो सङ्क्रमण अत्यन्तै कम हुने गर्दछ।[१७]
परम्परागत रूपमा गनोरियाको पहिचान गर्न ग्राम स्टेन तथा प्रयोगशालामा कल्चर गर्ने गरिन्थ्यो। तर आजभोलि पलिमराज चेन रियाक्सन (पिसिआर)मा आधारित नयाँ प्रविधिहरू प्रचलनमा रहेका छन्।[८][१८] प्रारम्भिक उपचार प्रभावहिन भएकाहरूमा एन्टिबायोटिक औषधिहरूको प्रभावकारिता परीक्षण गर्न प्रयोगशालामा कल्चर गरिनु पर्छ।[१९] गनोरियाको परीक्षण गर्दा सङ्क्रमण भएको पाइएकाहरूलाई क्लामिडिया, भिरिङ्गी तथा एचआइभी जस्ता अन्य यौनरोगका लागि पनि परीक्षण गरिनु पर्छ।[१९]
अन्य यौनरोगहरू जस्तै कन्डमको सही तरिकाले प्रयोग गरेर गनोरियाको सङ्क्रमणको जोखिम घटाउन सकिन्छ। त्यस्तै भरपर्दो एकजनासँग मात्र यौन सम्बन्ध राख्नाले यो रोगको सङ्क्रमणको जोखिम पूर्ण रूपमा हटेर जान्छ।[२०][२१]
पहिला सङ्क्रमित भएर उपचार गराइसकेकाहरूलाई सङ्क्रमण पूर्णरूपमा निदान भए नभएको परीक्षण गर्न आउन हौसला प्रदान गरिन्छ। टेलिफोनबाट सम्पर्क गरेर बोलाउनाका साथसाथै इमेल तथा एसएमएस गरेर पुन: परीक्षणको लागि बोलाउँदा प्रभावकारी भएको पाइएको छ।[२२]
गनोरियाको उपचारमा प्रभावकारी पाइएका केही एन्टिबायोटिक औषधिहरू मध्येको एक सेफ्ट्रियाजोन सुई लगाएर दिइने औषधि हो।[१९] साधारणतया यो औषधि अजिथ्रोमाइसिन वा डोक्सिसाइक्लिनसँग मिलाएर दिइन्छ।[२३] बढ्दो एन्टिबायोटिक प्रतिरोधका कारण गनोरियाको उपचारबारे निर्णय गर्नुभन्दा पहिला स्थानीय ब्याक्टेरियाको अवस्थालाई ध्यान दिनु आवस्यक छ।[१९][२४]
उच्च प्रतिरोध दर भएका कारण पहिला प्रभावकारी रहेका पेनिसिलिन, टेट्रासाइक्लिन तथा फ्लुरोक्विनोलोन्स जस्ता एन्टिबायोटिकहरू अहिले गनोरियाको उपचारमा सिफारिस गरिँदैन।[१९] सेफिजाइम नामको एन्टिबायोटिकको पनि धेरैमात्रामा प्रतिरोध भएको पाइएकोले अमेरिकामा यसलाई पहिलो स्तरको उपचारमा प्रयोग गर्न छोडिएको छ। यदि कुनै रोगी व्यक्तिमा यसको प्रयोग गरियो भने एक हप्तापछि पुन: परीक्षण गरेर सङ्क्रमण नियन्त्रणमा आए-नआएको पत्ता लगाउनु पर्छ।[२३] सेफ्ट्रियाजोनको पनि प्रतिरोध भएको पाइएको छ तर यसको प्रतिरोध बिरलै हुने गरेको छ।[१९] स्वास्थ्य सेवाका अधिकारीहरूले हाल देखिएको प्रतिरोध जारी रहेमा गनोरियाले विश्वभर महामारीको रूप लिन सक्ने चिन्ता प्रकट गरेका छन्।[३]
बेलायतको स्वास्थ्य सुरक्षा निकायले सन् २०११ मा गनोरियाको एन्टिबायोटिक प्रतिरोध घटेर पाँच वर्षकै न्यून बिन्दुमा पुगेको बतायो।[२५]
गनोरियाको सङ्क्रमण भएका व्यक्तिका यौनसहचारीहरूको पनि उपचार गर्न सिफारिस गरिएको छ।[१९] यस्ता यौनसहचारीको उपचार गर्न बिरामीले औषधि लगेर आफ्नो सहचारीलाई दिने पिडिपिटी उपचार विधि अपनाइन्छ। यस्तो विधिमा स्वास्थ्य सेवा प्रदायकले परीक्षण नै नगरी बिरामीको यौनसहचारीको लागि औषधि सिफारिस गर्ने गर्दछन्।[२६]
अमेरिकाको रोग नियन्त्रण तथा सुरक्षा केन्द्र (सिडिसी)ले गनोरियाको ब्याक्टेरियम फैलनबाट रोक्न गनोरियाको पहिचान भएर उपचार गरेका व्यक्तिहरूले उपचारको अन्तिम दिनपछि कम्तिमा एक हप्तासम्म यौनसम्पर्क नराख्न सिफारिस गरेको छ।[२७] गनोरिया लागेपछि पनि शरीरले कुनै प्रतिरोध क्षमता प्राप्त नगर्ने हुनाले यो रोगका वाहकहरूसँग असुरक्षित यौनसम्बन्ध राख्नेहरूलाई फेरि सङ्क्रमण पनि हुन सक्छ। गनोरियाका ब्याक्टेरिया शरीरमा भएपनि केही मानिसहरूमा रोगका लक्षणहरू नदेखिन पनि सक्छन् तर यिनीहरूबाट अरू मानिसमा सरेपछि ब्याक्टेरियाहरू सक्रिय हुन पनि सक्छन्।
भिरिङ्गीका ब्याक्टेरिया जस्तै गनोरियाका ब्याक्टेरिया पनि अति कमजोर हुन्छन्। यी ब्याक्टेरिया मानिसको शरीर बाहिरको वातावरणमा घुलमिल हुन सक्दैनन् र केही मिनेटदेखि केही घण्टाभित्र मरिसक्छन्।[२८][२९] यी ब्याक्टेरियालाई साबुन पानीले हात धोएर सजिलै हटाउन सकिन्छ। ओच्छ्यान वा कपडामा सरेका ब्याक्टेरिया पनि केही समयमा मरेर जान्छन्। प्रायजसो पौडी पोखरीहरूमा (स्विमिङ पुल) राखिएको क्लोरिनले यी ब्याक्टेरियालाई सजिलै मार्छ।