जीवनी भनेको कुनै व्यक्तिको जीवनलाई छर्लङ्ग पार्ने गरी लेखिएको क्रमबद्ध लेख हो । जीवनी मानिसले जीवनभरि गरेका कामकुराहरूको अभिलेख हो । साहित्यकै अङ्ग मानिने जीवनीलाई जीवन चरित्र वा जीवन चरित पनि भनिन्छ । जीवनीमा विशेष व्यक्तिको जीवनमा घटेका घटनाहरू तथा चरित्र, पेस आदि महत्त्वपूर्ण अंशहरू टिपेर उसले समाजमा दिएको योगदान लेखी त्यसको मूल्याङ्कन पनि समावेश गरिएको हुन्छ । राष्ट्र र मानव समाजकै उन्नतिका लागि महत्त्वपूर्ण देन दिने विशिष्ट व्यक्तिको जीवनी लेखिन्छ वा पढिन्छ ।
जीवनीले व्यक्तिको समग्र प्रामाणिक चिनारी दिने भएकाले जीवनी लेखकले सम्बन्धित व्यक्तिसित सम्बन्ध राख्ने विभिन्न सामग्रीहरू उपयोग गरेको हुन्छ । जीवनी लेख्ता दैनिकी, चिठी, अभिलेख, उसका साथीहरूको संस्मरण, उसका बारेका पुस्तकहरू, फोटा तथा तस्वीर र अन्तर्वार्ताबाट उससम्बन्धी आफूले प्राप्त गरेको ज्ञान आवश्यक पर्दछन् । यहाँ लेखिने जीवनी भनेको पनि महत्त्वपूर्ण व्यक्तिको जीवनी नै हो, जसका लागि आवश्यक बुँदा टिपोट गरिएको हुन्छ ।
जीवनीमा शङ्कास्पद अनुमान र अतिकाल्पनिक उडन्ते कुराहरू तथा तथ्य नै बिग्रने गरी भवनमा बगेर गरिएका अतिशयोक्तिपूर्ण मूल्याङ्कन औचित्य भने रहँदैन । व्यक्तिलाई आकाशमा पुर्याउन प्रयोग गरिने अनावश्यक विशेषणहरूले पनि जीवनीलाई खल्लो बनाउँछन् । यसमा त प्रमाणित सत्य कुरा प्रस्तुत गरी सौन्दर्यपूर्ण भाषामा वस्तुपरक विश्लेषण गर्नुपर्दछ ।र जस्तो
बुँदाहरू
युवाकवि मोतिराम भट्ट
नेपाली साहित्यका क्षेत्रमा युवाकविका नामले चिनिने मोतिराम भट्टको जन्म वि.सं. १९२३ कुशे औँसीका दिन काठमाडौँको भोसिको टोलमा भएको थियो । उनका बुबाको नाम दयाराम भट्ट तथा आमाको नाम रिपुमर्दिनी देवी थियो । मोतिराम भट्ट छ वर्षकै कालिको उमेरमा आमासँग बनारस गए । उनी बनारसमै बसी संस्कृत र फारसी भाषाको अध्ययनमा लागे । त्यहाँ उनलाई गायन तथा वाद्यवादन सिक्ने अवसर समेत प्राप्त भयो । त्यसपछि नेपाल फर्केर उनले वि.सं. १९३७ मा विवाह गरे । विवाह गरेको एक वर्षभित्रै वि.सं. १९३८ सालमा पुनः बनारस गई अङ्ग्रेजी पढ्न थाले । यसरि विभिन्न क्षेत्रमा उनको अध्ययनको काम अघि बढ्यो । मोतिराम भट्टले नेपाली साहित्यको विकासका लागि धेरै पक्षबाट सिर्जनात्मक कामहरू आरम्भ गरे । उनले नेपाली काव्यजगतमा गजल र समस्यापूर्ति कविता सुरु गरे भने अरूलाई लेखनतर्फ आकर्षित पनि गरे । स्वदेशबाटै पुस्तक प्रकाशन सम्भव होस् भन्ने अभिप्राय राखी उनले नेपालमा भारतजीवन नामक प्रेस स्थापना गरेर आदिकवि भानुभक्तको रामायणको 'बालकाण्ड' छपाए । त्यसै सिलसिलामा उनले 'गोरखा भारत जीवन' भन्ने नेपाली भाषाको पहिलो पत्रिका समेत चलाएर नयाँ परम्परा भित्र्याए । उनले कविहरूलाई भेला पारेर कविता सुन्ने र प्रेरणा दिने उद्देश्य राखेर बनारस र काठमाडौँमा मोती मण्डली नामको कविहरूको समूह स्थापना गरी एउटा जोसिलो साहित्यिक वातावरण खादा गरे । उनले 'पीकदूत' जस्तो उत्कृष्ट काव्य, 'शकुन्तला' नाटक, 'भानुभक्त आचार्यको जीवनचरित्र' शीर्षकको जीवनी तथा समालोचना लेखेका छन् । यीबाहेक उनका अन्य कृतिहरूमा 'प्रह्लाद भक्तिकथा', 'उषाचरित्र', 'गजेन्द्रमोक्ष', 'प्रियदर्शिका नाटिका' आदि पर्दछन् । युवाकवि मोतिराम भट्टले छोटो आयु पाए तापनि उनको नेपाली भाषा र साहित्य प्रतिको प्रेम र आफूभन्दा अग्रजको सम्मान गर्ने बानि हाम्रा लागि निकै महत्त्वपूर्ण प्रेरणाका स्रोत हुन् । उनले साहित्यका क्षेत्रमा कवि, गजलकार, नाटककार, जीवनीकार, समालोचक, पत्रकार तथा खोजकर्ताको रूपमा सफलतापूर्वक काम गरेका छन् । यस्ता बहुमुखी प्रतिभा भत्ताको मृत्यु वि.सं. १९५३ सालमा तीस वर्षकै युवा कालमा भएको थियो । |