वित्तीय सङ्कट विस्तृत विविध प्रकारको परिस्थिति हो जसमा केही वित्तीय सम्पत्तिले आफ्नो मूल्यको अचानक ठूलो अंश गुमाउँछ। १९औँ र प्रारम्भिक बीसौँ शताब्दीका धेरैजसो वित्तीय सङ्कटहरू बैंकिङ त्रासदी र आर्थिक मन्दीसँग सम्बन्धित थिए। अन्य परिस्थितिहरूमा वितीय बबल, शेयर बजार क्र्यासहरू, मुद्रा सङ्कट र सार्वभौम ऋण चुकाउन असफल जस्ता अवस्थाहरू पर्छन्।[१] [२] वित्तीय सङ्कट वित्तीय सङ्कटको परिणाम प्रत्यक्ष रूपमा कागजी सम्पत्तिको नोक्सान हुन्छ, तर वास्तविक अर्थतन्त्रमा महत्वपूर्ण परिवर्तन हुन्छ भन्ने आवश्यक छैन। (जस्तै १७औँ शताब्दीमा प्रसिद्ध ट्युलिप मेनिया बबलबाट उत्पन्न सङ्कट)।
धेरै अर्थशास्त्रीहरूले वित्तीय सङ्कट कसरी विकास हुन्छन् र यस्तो सङ्कटलाई कसरी रोक्न सकिन्छ भनेर सिद्धान्तहरू प्रस्तुत गरेका छन्। यद्यपि यसमा कुनै सहमति छैन, र वित्तीय सङ्कट समय-समयमै भइरहन्छ।
निक्षेपकर्ताहरूले बैंकबाट एकै पटक पैसा निकाल्ने भन्ने प्रवृत्तिलाई 'बैंक रन' भनिन्छ। जब बैंकको साखमा धक्का पुग्ने कुनै घटना हुन्छ र त्यसले निक्षेपकर्ताको बैंक माथि विश्वास टुट्छ तब बैंक रन हुन्छ अनि निक्षेपकर्ताहरू लाइन लागेर बैंकबाट पैसा निकाल्छन्। बैंकले त्यो पैसा फिर्ता दिन सक्दैन किनभने उसले त्यसको केन्द्रीय बैंकले तोकेअनुसारको प्रतिशत (नेपालमा नेपाल राष्ट्र बैंकले ८०% तोकेको छ।) रकम लगानी गरी सकेको हुन्छ र ऋणी/ऋणकर्ताहरू/व्यापारीहरूले पनि भन्ने वित्तिकै बैंकको ऋण चुक्ता गर्न सक्दैनन्। त्यसबेला बैंकमा तरलता समस्या हुन्छ। तरलता व्यवस्थापन गर्न नसकेर बैंक दिवालिया अर्थात टाट पल्टेको घोषित हुन पुग्छ। दिवालिया भइसकेपछि उसको सम्पत्ति (ऋण र अचल सम्पत्ति) को मूल्याङ्कन हुन्छ र भनेको दाम नआउन सक्छ। त्यस्तो अवस्थामा बैंकले निक्षेपकर्ताको पैसा फिर्ता गर्न सक्दैन र बैंकिङ सङ्कटको अवस्था सिर्जना हुन्छ।
मुद्रा सङ्कट भनेको कुनै पनि देशको मुद्रा अवमूल्यन हुने परिस्थिति हो। यो अवस्थामा अत्याधिक मुद्रास्फीतिमा वृद्धि हुन सक्छ।