माण्डूक्य उपनिषदलाई वेदको सार भनिन्छ । ब्रह्मविद्याका ग्रन्थहरुमध्ये यो उपनिषद् सर्वोपरि मानिन्छ ।[१] तर उपनिषद्हरुमध्ये यो सर्वाधिक सानो पनि हो । यसमा जम्मा १२ मन्त्रहरु छन् । यसमा ओंकारको माध्यमबाट ब्रह्मलाई अनुभव गराउने प्रयास गरिएको छ । ओंकार यस्तो शब्द हो जसको वेदमा मात्र होइन, बौद्ध ग्रन्थ, जैन ग्रन्थ, सिखको गुरुवाणी, किरांतहरूको धर्मग्रन्थ लगायत अनेक धर्मग्रन्थहरूमा समानरूपमा उच्च सम्मान प्रदान गरिएको छ् । गुरु नानकले त इक ओमकार सतिनाम भनेर सुप्रीम ट्रुथ (परम सत्य) को रूपमा यसको महत्त्व बयान गरेका छन् । ॐ शब्द मात्र नभएर चिन्ह पनि हो । स्वस्तिक र ॐलाई एक अर्काको पर्यायवाची पवित्र चिन्ह मानिन्छ भने क्रस चिन्ह र स्वस्तिक चिन्हको उत्पत्ति आधार ॐ हो भन्ने खप्तड बाबाको विचार छ । आर्य समाजीहरूले ओ३म् लेख्ने गर्दछन् ।[२]
ओंकार शब्दलाई ठीक तरीकाले लख्न सकिंदैन । यसलाई केवल उच्चारणद्वारा व्यक्त गर्न सकिन्छ । यसको पूर्ण उच्चारणलाई निम्न प्रकार व्यक्र गर्न सकिन्छ–सुरुमा निशब्दता अनि विस्तारै मुख खोल्दै अ–उ–म्–मुख बन्द र केवल नाके स्वर–नाकबाट दीर्घ स्वासबाट समाप्त गर्दै शान्ति । यस प्रकार ओंकारको उच्चारणलाई पांच भागमा विभाजन गर्न सकिन्छ । मुख खोलेर अ लाई कण्ठको गहिराईबाट पूर्ण शक्ति लगाएर उच्चारण गर्दा नाभिमा कंपन अनुभव गर्न सकिन्छ ।
उ को उच्चारण गर्दा ओंठ केही गोलो बनाई त्यसै गरी उच्चारण गर्दा छातिमा कम्पन हुन्छ । ओंठ बन्द गरेर पूर्ण शक्ति म को लगाएर उच्चारण गर्दा सिरमा स्पष्ट कम्पन अनुभव गर्न सकिन्छ ।
म उच्चारण गर्दा ओंठ बन्द गरी ध्वनि नाकबाट निकाल्नु पर्छ । यसको उच्चारणलाई घण्टीको ध्वनिसंग तुलना गर्न सकिन्छ । सुरुमा चर्को अनि विस्तारै मन्द हुंदै अन्तमा शान्त । नाकबाट निस्केको स्वर विस्तारै घट्दै गइ केवल स्वास निस्कन्छ । अन्तमा स्वासले नाथ्रा फुल्छन् अनि पूर्ण शान्ति, निस्तब्धता ।
तीनवटैको समवेत स्वरलाई नाद ब्रह्म भनिन्छ । अको उच्चारण गर्दा त्यसमा उ मिसाउनु पर्छ भने उ को उच्चारण गर्दा म मिसाउनु पर्छ । यी तीनवटाको स्वतन्त्र र मिसाएर अलग अलग उच्चारण गर्दा ओंकारको सही उच्चारण हुन्छ । यसको उच्चारण गर्दा पूर्ण शक्ति लगाएर गर्नु पर्छ । भाषा शास्त्रमा यो मात्र एक यस्तो अनौठो सार्थक शब्द हो जसलाई उच्चारण गर्दा जिब्रो चलाउनु पर्दैन । जिब्रोले कहीं आघात नगरी उच्चारण गर्न सकिन्छ । त्यही कारणले यसलाई अनाहत नाद भनिएको हो र विश्वको जुनसुकै भाषा बोल्नेले पनि यसको शुद्ध र स्पष्ट उच्चारण गर्न सक्छ ।
सृष्टिको आदि अवस्थाका बारेमा अध्ययन गर्दा वैज्ञानिकहरु त्यस बेलाको कल्पना गर्दछन् जब पृथ्वीमा जीवहरूको उत्पत्ति भइसकेको थिएन तर सुरु हुने पूर्वाधारहरु थिए । पृथ्वी पूर्णतया जलमय र एकदम सुनसान थियो । ब्रह्माण्डका तारा र नक्षत्र बाहेक पृथ्वीलाई हेर्ने कोही थिएन । त्यस निरपेक्ष सुनसानमा पृथ्वीमा पनि एक ध्वनि थियो । किनभने निस्तब्ध शान्ति अवस्थामा पनि एउटा ध्वनि हुन्छ । त्यो सुनसानको शान्त आवाज ॐकारको ध्वनिसंग मिल्दोजुल्दो हुनुपर्छ भन्नेमा ध्वनिशास्त्रीहरु सहमत छन् । यस्तो आवाजलाई आफुभित्र सुन्ने सन्तहरूको कमी छैन । शंख भित्रबाट आउने ध्वनि निस्तब्ध शान्ति अवस्थाको ध्वनिकै प्रतीक मानिन्छ । खप्तडबाबाले शरीर भित्र ॐको ध्वनिलाई सुन्नका लागि एउटा प्रयोगात्मक विधिको उल्लेख धर्म विज्ञान पुस्तकमा गरेका छन् ।[३]
ॐ परब्रह्म हो त्यसकारण त्यो अणु अणु मै भरिएको छ । जसरी समष्टि ॐ स्वरुप छ त्यसरी नै व्यष्टि सृष्टि पनि ॐ स्वरुप छ । जीवहरूलाई पृथक पृथक सृष्टि भन्छन् र तिनीहरु जुन एकमा हुन्छन् ईश्वरको त्यस्तो सृष्टिलाई समष्टि भन्दछन् । मनुष्यहरूको भिन्न भिन्न घर व्यष्टि हो र शहरको रूपमा सबैघरहरूलाई एक भावना सम्झ्नुलाई समष्टि भन्छन् । ओंकारमा चार पाद छन् । त्यसकारण चार पाद हुनाले त्यसका चार छुट्टा छुट्टै अङ्ग छन् भन्ने संझनु भएन । किनभने चार पादको कल्पना बुझाउनकोलागि गरिएको हो । जुन चार पादहरुद्वारा उसलाई बुझाइन्छ ती चार पादहरूलाई मात्रा पनि भन्दछन् । अकार प्रथम पाद हो, उकार द्वितीय पाद, मकार तृतीय पाद, र अमात्र चतुर्थ पाद मायारहित शुद्ध अधिष्ठान हो । ॐको वर्णाकृति जो शास्त्रहरूमा देखिएको छ, त्यसमा पाद वा मात्राहरूको भावलाई खप्तड बाबाले यस प्रकार व्यक्त गरेका छन्–
देब्रेतिरबाट जुन अद्र्धचन्द्राकार छ, त्यो अकार हो त्यसको तलतिर जो यस्तै नै दोस्रो अर्ध चन्द्राकार जुन प्रथमसंग मिलेको उकार हो र बीचबाट जोडिएको अगाडि जुन बिन्दु छ, त्यो मकार हो । तसर्थ, यो अकार सहित उकार हो । उकार सहित मकार हो । अकार, उकार, मकार यी तीनवटै हो । यी तीनवटै माथिको अर्धचन्द्रका मुनि छन् । अर्धचन्द्रले मायालाई देखाउंछ र त्यसको माथि मध्यमा जुन बिन्दु छ त्यो अमात्र हो । जुन प्रकाश मायाको तम अंशमा परेर बाहिर आउंछ त्यो मकार हो । उकारमा एउटा प्रकाश त मायाको रज अंशबाट आउंछ र अर्कोचाहिं अकारबाट आउंछ । यसरी नै मकारमा एउटा प्रकाश त मायाको तमस् अंशबाट अर्को प्रकाश उकारबाट र तेस्रो प्रकाश अकारबाट आउंछ । अमात्र शुद्धस्वरुप हो । उत्पत्ति, स्थिति, र लय अकार, उकार, र मकार हुन् । चैतन्यको प्रकाश लिएर उत्पत्ति सत्वगुणबाट, स्थिति रजोगुणबाट, र प्रलय तमोगुणबाट हुन्छ । स्थिति उत्पत्तिको हुन्छ, त्यसकारण यी दुवैको सम्बन्ध छ र लय उत्पत्ति र स्थिति दुवै हुनाले दुवैसंग सम्बन्ध राख्छ । यी सब भेद हुंदाहुंदै पनि भेद भ्रान्तिरुप हुनाले त्यो शुद्ध ब्रह्म नै हो । यस प्रकार बोध हुनु ओंकार आकृतिको अर्थ हो ।
अकारलाई सृष्टिकर्ता ब्रह्मा Generator को प्रतीक, उकारलाई स्थिति र संचालक विष्णु Operator को प्रतीक तथा मकारलाई संहारकर्ता शिव Destroyer को प्रतीक मानिन्छ । त्यसैले अ, उ, म् अलग अलग पनि परमात्माको स्वरुप हो र संयुक्त ओंकार रूपमा ब्रह्म GOD को प्रतीक पनि हो ।
भर्तृहरिका अनुसार एकाग्रचित्त भइ घोरिएका परमेष्ठि ब्रह्माजीको हृदयाकाशबाट कण्ठ तालु आदि आदि संघर्ष नभएको एक अत्यन्त विलक्षण अनाहत नाद प्रकट भयो । त्यही अनाहत नादबाट अ, उ, म् यी तीन मात्राहरूले युक्त ओम् प्रकट भयो । । यस शक्तिले नै प्रकृति अव्यक्तबाट व्यक्र रूपमा परिणत भयो । ओंकार स्वयं अव्यक्त अनादि हो । परमात्म स्वरुप भएकोले स्वयं प्रकाश हो । ओंकार शब्दद्वारा परमात्माका स्वरूपको बोध हुन्छ । श्रवणेन्द्रिय शक्ति लुप्त भएको अवस्थामा पनि ओंकर शब्द भित्र ध्वनित हुन्छ । अ, उ, र म् यी तीन वर्ण सत्व, रज र तम तीन गुणहरु, ऋक्, यजु, साम तीन नामहरु, भूः, भुवः, स्वः तीन अर्थहरु, जाग्रत, स्वप्न, सुषुप्ति तीन वृत्तिहरूको रूपमा तीन तीन संख्या हुने भावहरु धारण गर्दछन् । ओंकारबाट नै ब्रह्माजीले अ देखि औसम्मका स्वर र क देखि ह सम्मका व्यंजन, ह्रस्व, दीर्घ आदिले युक्त वर्णमाला बनाए । जसबाट चार वेदहरु प्रकट भए । यसरी सम्पूर्ण वेद ॐको विस्तार मात्र हो ।[४]
परब्रह्मबाहेक वस्तुरुप अरु कुनै पदार्थ छैन । त्यसकारण दृश्य अदृश्यस्वरुप जे जति छ त्यो सब परब्रह्म नै हो । यसरी ओंकार त्रिकाल भूत, वर्तमान, र भविष्यस्वरुप हो । तथा तीनै कालभन्दा अतीत पनि हो ।
प्रथम पाद अकार विश्वरुप अर्थात् जगत रुप हो । त्यसको अवस्था बाहिरका विषयहरूको ज्ञान हुने रुप जाग्रत हो, त्यसका सात अङ्ग छन्, उन्नाइस मुख छन् र स्थूल विषयहरूको भोग गराउने हुने मस्तक चक्षु सब दिशाहरूमा घुम्ने वायु, सर्वव्यापी आकाश, अन्नादिहरूको उत्पत्तिको साधनरुप, जल (वस्ति) पृथ्वीरुप पाद र आहवनीय अग्नि यी सात अङ्ग हुन् । उन्नाइस मुख यस प्रकार छन् दश इन्द्रियहरु– पांच ज्ञानेन्द्रिय, पांच कर्मेन्द्रिय, पांच प्राण, र चार अन्तःकरण मन, बुद्धि, चित्त, र अहंकार । आँखा, नाक, कान, जिब्रो, र छालाबाट रुप, गन्ध, शब्द, रस, र स्पर्शको ज्ञान हुन्छ । हात, खुट्टा, वाणी, उपस्थ, र गुदा पांच कर्मेन्द्रियहरु हुन् ।
ॐ भद्रं कर्णेभिः श्रृणुयाम देवा, भद्रम्पश्येमाक्षभिर्ययजत्राः ।
स्थिरैरंगैस्तुष्टुवा गं सस्तनुभिः व्यशेमहि देव हितं यदायुः ।।
ॐ स्वस्ति न इन्द्रो वृद्धश्रवा स्वस्ति न पूषा विश्ववेदाः।
स्वस्ति नस्ताक्ष्र्यो स्वस्तिनो बृहस्पतिर्दधातु ।।
ॐ शान्तिः, शान्तिः, शान्तिः ।
जागरितस्थान– जाग्रत अवस्थामा, (स्थूल जगत नै उसको जाग्रत अवस्थाको प्रतीक हो), बहिष्प्रज्ञः जसको बाह्य स्वरूपको ज्ञान हुन्छ, अर्थात् जसको ज्ञान बाह्य जगतमा फैलिएको छ । सप्तांगः– सात अङ्ग (सातलोक) भएको । एकोनविंशतिमुखः– उन्नाइस वटा (पांच ज्ञानेन्द्रिय, पांच कर्मेन्द्र्रिय, पांच प्राण र चार अन्तःकरण यी) स्रोत (मुख) को माध्यमबाट । स्थूल भुक्– जो यस स्थूल जगत्को भोक्ता हो । त्यो, वैश्वानरः प्रथमः पादः– वैश्वानर (विश्वलाई धारण गर्ने) नै उसको पहिलो पाउ हो ।।३।।
द्वितीया मात्रा– ओंकारको दोस्रो मात्रा, उकारः– उ, उत्कर्षाद्– अ पछि आउने भएकोले अथवा अ भन्दा उत्कृष्ट (अ भन्दा केही बढी चर्को उच्चारण गरिने) भएकोले, वा– साथै, उभयत्वात् – दुवै भाव भएकोले, स्वप्नस्थान– सपनामा (स्वप्नको जस्तै सूक्ष्म जगतरुपी शरीर भएको), तैजसः– तैजस नामको दोस्रो पाउ हो । यः एवम् – जसले यस प्रकार, वेद– जानेको छ, ह वै– (उसले) अवश्य नै, ज्ञानसंततिम्– ज्ञानको परम्परालाई, उत्कर्षति– उन्नत बनाउंछ, च– साथै, समान भवति– समान भाव हुन जान्छ । अस्य कुले– यसको कुलमा, अब्रह्मवित् न भवति– ब्रह्मलाई नजान्ने कोही रहंदैन ।।१०।।
ॐ शान्तिः, शान्तिः, शान्तिः दैहिक, दैविक, भौतिक कष्ट शान्त होउन् ।